धनगढी, वैशाख १७ गते । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ । आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आज बिहीबार बसेको प्रदेशसभाको बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतरुपमा स्वीकृत गरेको हो ।
आजको बैठकमा सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त प्रस्ताव पेस गर्नुभएको थियो । यसअघि सभामुख भीमबहादुुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्नुहुँदै आठौँ अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा सत्तापक्ष नेपाली काङ्ग्रेसका डम्मरी महरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेन्द्रसिंह रावल र प्रमुख प्रतिपक्ष नेपाली कम्युुनिष्ट पार्टी (नेकपा)का प्रकाश रावलले समसामयिक विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।





