काङग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङ्देम्बे ।
काठमाडौँ, वैशाख १४ गते । प्रतितिनिसभाको दोस्रो ठूलो दल नेपाली काङग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले मुलुकलाई नयाँ ढङ्गले अघि बढाउन पार्टीले नयाँ अवधारणा ल्याएको दावी गर्नुभएको छ । पार्टीको तर्फबाट आफु संसदीय दलको नेता चयन भएलगतै आङ्देम्बेले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काङग्रेस संसदीय दलको नेतामा भिष्मराज आङ्देम्बेलाई सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप आजै बसेको संसदीय दलको बैठकले पार्टीको समानुपातिक निर्वाचन पद्धतिबाट सांसद बन्नुभएका नेता आङ्देम्बेलाई संसदीय दलको नेतामा निर्विरोध निर्वाचित गरेको थियो । संसदीय दलको नेता चुनिएपछि आङ्देम्बले सञ्चारकर्मीहरु कुरा गर्दै सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरेर काङग्रेसले कडा रुपमा प्रतिवाद गर्ने दावी गर्नुभएको छ ।
लोकतन्त्रमा संसद् प्रतिपक्षी दलको हुने उल्लेख गर्दै काङग्रेसका नवनिर्वाचित संसदीय दलका नेता आङ्देम्बेले ‘सरकारले जनताको मन दुखाउने काम गरे आफ्नो दलले कडा रुपमा प्रतिवाद गर्ने’ चेतावनी दिनुभएको छ ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता आङ्देम्बेले भन्नुभयो ‘हामीले सरकारको राम्रो कामको समर्थन र जनताले मन दुखाउने खालको काम राज्यबाट भयो वा देखियो भने हामी त्यसको सशक्त रुपमा प्रतिवाद गर्दछौँ ।’







