काठमाडौँ, वैशाख १४ गते । प्रतितिधिसभाको चौंथो ठूलो दल नेपाली कम्युनिस्ट पार्टी(नेकपा) को आज बसेको बैठकले संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । नेकपाको पार्टी मुख्यालय पेरिसडाँडामा आज सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
पार्टीको तर्फबाट आज गठित कार्यदलमा नेताहरू देव गुरुङ, प्रेमबहादुर सिंह, प्रकाश ज्वाला, रणध्वज कन्दङ्वा, ई. गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य छन् ।
सरकारले संविधान संशोधनको गर्ने एजेण्डा अघि सार्दै सम्बन्धित सबै पक्षसँग परामर्श गर्दै सुझाव सङ्कलन गरिरहेको छ । यसैक्रममा नेकपाले पनि आफ्नोतर्फबाट संविधानमा संशोधन गर्नुपर्ने बुँदाहरु के के हुन् भन्ने यकिन गरी सरकारलाई सुझाव दिन कार्यदल बनाएको हो ।
वर्तमान संविधानका केही बुँदाहरु संशोधन गर्नुपर्ने भन्दै विगतदेखि काङ्ग्रेस, नेकपा एमाले, नेकपाका साथै मधेशवादी दलहरुले उठाउँदै आएका हुन् । तर तात्कालीन समयमा संसदमा कुनैपनि दलको बहुमत नभएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा पर्दै आएको थियो ।
यस अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको काङ्ग्रेस एमालेको संयुक्त सरकारले संविधान संशोधन गर्ने मुद्दा बनाएर झण्डै दुई तिहाइको सरकार संयुक्त सरकार बनाएको थियो । तर ओली नेतृत्वको काङ्ग्रेस एमालेको संयुक्त सरकारले संविधान संशोधनको एजेण्डा केवल सत्तारोहणको भर्याङमात्र बनाउँदा संविधान संशोधनको मुद्दा नै बेखबर बन्न पुगेको थियो ।







