काठमाडौँ, वैशाख ८ गते । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । आज मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो ।


सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गरेको हो ।

यसैगरी, आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यसैगरी, आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि यो प्रक्रिया अघि बढाइएको हो। बोर्डका तत्कालीन अध्यक्ष श्रेष्ठले नयाँ सरकारलाई सहयोग गर्ने उद्देश्यले राजीनामा दिएको बताइएको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।