अविरल शर्मा
६ वैशाख, २०८३

कपास टिप्दाको माया हातमा,
धागो बन्न्ने आशा मनमा।

फरक फरक रङ, फरक फरक बुट्टा,
कहिले तातो बाफमा तड्पिएको,
कहिले चिसो पानीमा धोइएको
घाममा सुक्दै, मेहनतको पसिनादेखि
अत्तरको बासनासम्म पुग्दै गरेको।

एता ठोक्किदै, उता तानिदै,
न आफ्नै इच्छा, न आफ्नै बाटो
तैपनि धागो धागो जोडिँदै,
कपडा बन्ने सपना बोकेको।

तर जिन्दगीका उतार चढावमा,
कहिले काँटामा अड्कियो, कहिले चट्कियो
कमजोर भएको धागो जसरी,
बिस्तारै टुक्रिँदै गयो।

उधारिएको, च्यातिएको लुगा जस्तो
एता सम्हाल्छु, उता छुट्छ बन्धन,
टुट्छ, जोडिन्छ, फेरि टुट्छ यहाँ
गाँठो बाँध्दै, जोड्दै गयो जीवन यसरी।

अविरल शर्माले लेख्ने यी कवि भावना र विचारको निरन्तर बहावलाई शब्द दिन खोज्छन्। उनका रचनाहरू प्रायः ती क्षणहरूलाई समेट्छन्, जुन खुलेर व्यक्त हुँदैनन् तर भित्रभित्रै रहिरहन्छन्।