सपना बोकेर हिँडेको मान्छे,
भेट्यो बाटोमा फूल पनि, काँडा पनि ।
उठ्दै, लड्दै, फेरि उठ्दै
थाहै नपाई एक्लो भइसकेको ।

घाम लागेको छाना थियो कहिले,
हावाले उडाउँदा छत नै गयो ।
खैरो माटोमा रोपेको सपना,
अर्काको खेतमा फल्यो, आफू रित्तियो ।

अरूको आँधीमा रुख भइदियो,
आफ्नै जरा सुक्दै गएको थाहै भएन।
मेघ बन्यो अरूको लागि बर्सिन,
आफू भने तिर्खाएकै रह्यो भित्रभित्रै।

कटा मान्छे भाँचिँदैन बाहिरबाट,
भित्रभित्रै धुलो हुँदै जान्छ बिस्तारै।
रुँदैन, चिच्याउँदैन, मुस्कुराउँछ
पीडा मनकै कुनामा थुपरिन्छ।

आमाको काख, बाबाको छाती
दिदीको हातको न्यानो धागो,
कहिल्यै टुटोस् भनेको थिइनँ ।
बर्सौं बर्सा बित्यो, पत्तै नपाई —
अझै घर खोजिरहेछ मन यो परदेशमा

मडारिएको कालो बादलको बिचबाट,
एकछिन भए पनि घाम झुल्किदेऊ
भगवान्, एक चोटि भए पनि —
सास फेर्न देऊ, लामो सास फेर्न देऊ।

अविरल शर्माले लेख्ने यी कवि भावना र विचारको निरन्तर बहावलाई शब्द दिन खोज्छन्। उनका रचनाहरू प्रायः ती क्षणहरूलाई समेट्छन्, जुन खुलेर व्यक्त हुँदैनन् तर भित्रभित्रै रहिरहन्छन्।