गण्डकी, वैशाख ६ गते । अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।
यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ ।
विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ पर्यावणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले काम भइराखेको छ ।”
अहिले जारी काम सम्पन्न भएसँगै दिनमा पटकपटक रुप फेरिनै भएका कारण रुपाताल नामकरण गरिएको रुपातालको समग्र रुप नै फेरिने लागेको छ ।
सात तालको बगैँचा सिमसार सूचीमा सूचीकृत तालहरूमध्येको एक रुपातालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रुप फेरिने अवस्थामा पुगेको हो । यसअघि रुपाताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजनाअन्तर्गत छ ।
रुपाकोट, हंसपुरको सिरान र माझठाना साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरुयोजनासहित संरक्षणका कामहरू थालिएको हो ।
आयोजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यसअनुरुप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार परियोजना सम्पन्न भएसँगै रुपा तालको स्वरुप नै परिवर्तन हुनेछ । २०७५÷०७६ देखि काम थालिएको थियो । चरणबद्ध अघि बढ्ने आयोजनाको रु चार अर्ब ५२ करोड लागत रहेकामा हालसम्म दुई अर्ब ७० करोडको काम गरिएको छ । स्वीकृत गुरुयोजनाअनुुसार यो आयोजना २०८५÷०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कूल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १८३ हेक्टर क्षेत्रफल हुनेछ । परियोजनाअन्तर्गत बाँध निर्माण ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । बाँध निर्माणका लागि कूल रु २९ करोडको ठेक्का सम्झौता भएकोमा कालिका नयाँ बाटो जेभिले निर्माण गरिरहेको छ ।
बाँध निर्माण कार्य २०८३ भदौ २३ सम्म सक्ने समयावधि निर्धारण गरिएको छ । निर्माण सम्झौता अनुसार तालमा ५९० मिटर माटाको बाँध रहनेछ भने ४५ मिटर कङ्क्रिट बाँध रहनेछ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुले श्रेष्ठले जानकारी दिनुुभयो । बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर हुनेछ । यस आयोजनाअन्तर्गत रुपातालको बायाँतर्फ ७।८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ ।
त्यस्तै परियोजनाअन्तर्गत नै हालको लम्बाइ दुई किलोमिटर रहेको ताल फैलिएर ३।६ किलोमिटर हुनेछ । तालमा रहेको आठ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि रु ४० करोड विनियोजन भई काम भइरहेको र सम्झौताअनुसार आगामी फागुन २० सम्म सक्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एण्ड कम्पनीमार्फत भइरहेको छ ।
आयोजनाअन्तर्गत नै तालको बीचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा पाँच किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिनेछ ।
बाँकी काम गर्नका लागि ३१७ रुख काट्नुपर्नेछ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ । वातावारणीय प्रभाव मूल्याङ्कन ९इआइए० अनुुसार ३१७ रुख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेशन गर्दा १२८ वटा मात्रै रुख हटाउनुुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पुरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसका लागि वनबाट स्वीकृति आउनुुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुुभयो ।
आयोजनाकै लागि एक हजार २०० रोपनी अधिग्रहण गर्नुुपर्नेमा यसअघि ९११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि रु एक अर्ब रुपमा मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १२६ रोपनी अधिग्रहण गर्नुपनेर््मा त्यसका लागि नयाँ दररेट कायम हुनुपर्ने भए पनि जिल्ला दररेट कायम भइनसकेको कारण उक्त कार्य पनि प्रभावित बनेको छ ।
यी सबै काम सम्पन्न भएसँगै तालको क्षेत्रफलसँगै थप चार मिटर गहिराइ पनि बढ्ने जनाइएको छ । रुपातालको एकीकृत विकास आयोजनासँगै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गण्डकी प्रदेश भित्रका विभिन्न ५० भन्दा बढी आयोजना हेदै आएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुुभयो । हालै सिँचाइ दिवस एवं ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाबाट सम्पादित कार्यप्रगति एवं समुदायमा पु¥याएको समग्र प्रभाव मूल्याङ्कनका आधारमा उत्कृष्ट आयोजनाका रुपमा पुरस्कृत समेत भएको उहाँले बताउनुभयो ।
सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको यहाँका बूढापाकाको तर्क छ । पछिल्ला वर्षमा सौन्दर्य ह्रासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै गएका अवस्थामा परियोजना सम्पन्न भएसँगै यसले तालको संरक्षण हुने विश्वास लिइएको छ ।
विगतमा अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्दै आइएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुुभयो ।
रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रुपाताल पुग्ने गरेका छन् ।
सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी–पे्रमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्विमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् । आयोजनाका लक्षित कामहरूले समग्र तालको रुपमा परिवर्तन आउने उहाँले बताउनुुभयो ।
मोती उत्पादनको परीक्षण
रुपा तालमा मोती उत्पादनको परीक्षण पनि थालिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोती उत्पादनका लागि परीक्षण बढाइएको सहकारीका अध्यक्ष थापाले जानकारी दिनुुभयो । मोती उत्पादन परीक्षण समफल भएमा यस ताललाई मोती उत्पादनका माध्यमबाट पनि उपयोग गर्न सकिने उहाँको भनाइ छ ।
तालमाथि झोलुुङ्गे पुल
रुपाताल किनारका जङ्गललाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । प्राणी उद्यान केन्द्र पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिनुुभयो ।
आयोजना अन्तर्गत ताल किनारमा बनाउने भनिएको फुट ट्रयाकले यहाँको सौन्दर्यतालाई अझै उजागर गर्ने उहाँको भनाइ छ । केन्द्रमा अवलोकन गर्न आउने पर्यटकले रुपातालको मनोरम दृश्यसँगै यहाँ राखिएका चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।
उहाँका अनुुसार रुपाताल आसपासका क्षेत्रको जङ्गलमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यस क्षेत्रमा एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ ।
रुपामाथि राखिएको झोलुङ्गे पुल यहाँको अर्को आकर्षण हो । दुई सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि यो पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरा महानगरपालिका–३१ र रुपा गाउँपालिका–६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पछिल्ला समयमा तालमाथिको झोलुङ्गे पुल हेर्न र टिकटक तथा भिडियो बनाउन आउने क्रम पनि बढीरहेको छ ।
रुपातालमा सञ्चालत आयोजनाका काम सबै सम्पन्न भएसँगै यसको रुपमा नै आमूल परिवर्तन आउने ढकालले बताउनुुभयो । तालको रुपमा परिवर्तनसँगै रुपाताल यस क्षेत्रकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उहाँले बताउनुुभयो ।
चरा पर्यटन गन्तव्य
रुपाताल चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस तालमा धेरै प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेका छन् । विशेषगरी हिउँदको समयमा साइबेरियालगायत स्थानबाट विभिन्न प्रजातिका चराहरु रुपातालमा आउने गरेको पोखरा पन्छी समाजका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले बताउनुुभयो । रुपातालसहित लेखनाथका तालहरू चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रुपमा रहेको उहाँको भनाइ छ ।







