काठमाडौँ, वैशाख ५ गते । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१ दशमलव एक किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन् ।
राजनले एक घण्टा ४:०३ मिनेटमा उक्त दूरी पूरा गरे । पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो । अर्जुन बुढाले उक्त दूरी एक घण्टा ६:०४ मिनेटमा पार गरी दोस्रो र सुशील शाही एक घण्टा ६:५ मिनेट पार गरी तेस्रो भए ।
काठमाडौँका तीर्थ पुन एक घण्टा ७:४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ एक घण्टा ८:०२ मिनेटका साथ पाँचौँ र आर्मीकै नरेन्द्र राउत एक घण्टा ९:०३ मिनेटका साथ छैटौँ भए ।
महिलातर्फ सन्तोषीले एक घण्टा १८:११ मिनेटमा पूरा गरेर विजेता बनेकी हुन् । आर्मीकी निशा पाल एक घण्टा १८:२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २३:१३ सेकेन्डका साथ तेस्रो भए ।
आर्मीकी निर्मला केसी एक घण्टा २५:५४ मिनेटका साथ चौथो, एपिएफकी फुलमती राना एक घण्टा २८:४३ मिनेटका साथ पाँचौँ र सोनसरी रोकाया एक घण्टा ३२:०३ सेकेन्डका साथ छैटौँ भए ।
हाफ म्याराथन पुरुष र महिला तर्फका विजेतालाई रु एक लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो । हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौँ हुनेले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे ।
कान्तिपुर टेलिभिजनको कार्यालय, तीनकुने अगाडिबाट सुरु भएको हाफ म्याराथन कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः तीनकुनेमा आएर टुङ्गिएको थियो ।
यसैगरी, ह्विलचेयर पाँच किलोमिटर दौडतर्फ रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल विजेता बनेका छन् । पुरुषतर्फ खत्रीले नौ मिनेट २९:२२ सेकेन्डमा प्रथम भए । यस्तै, दीपक आलेमगर ११ मिनेट ०६:०२ सेकेन्डसहित दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७:०५ सेकेन्डसहित तेस्रो भए ।
सोही विधाको महिलातर्फ अछामकी कुमालले १२ मिनेट २६:९९ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्रीमगर १३ मिनेट ३०:६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०:०८ सेकेन्डका साथ तेस्रो भइन् । ह्विलचेयर रेसका विजेताले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पाए ।
‘रन फर नेपाल’ नारासहित भएको म्याराथनको उद्घाटन दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले गर्नुभएको थियो ।







