काठमाडौँ, भदौ २४ गते । नेपाली काङ्ग्रेस र नेकपा एमालेको मिलिजुली सरकारका प्रधानमन्त्री केपी ओलीको अहङ्कार र दम्भले देश युद्धभूमिमा रुपान्तर जस्तै भएको छ । हिजो र आज यो दुई दिनमा देशमा अराजक परिस्थितिको सिर्जना हुनुमा केपी ओली नेतृत्वको पराकाष्ठाको उपज हो भन्दा अत्युक्ति नहोला ।
केपी ओलीको महात्वाकांक्षी र जङगबहादुर बन्ने दिवा सपनाले आज देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता माथि नै प्रश्न उठ्ने काम भएको छ । राजधानीलगायत देशभर सरकारले चलाएको स्वेत आतङ्कले समाजका हरेक तह र तप्कामा विद्रोहको आवाज उठेको छ । यो आवाजले देशको शासन प्रणालीमै खलल पुग्ने सम्भावना देखिएको छ । जेनजीले उठाएको सान्दर्भिक आवाजालाई सरकारले राज्यसत्ताको चरम दुरुपयोग गर्दै गर्दा धमिलो पानीमा माछा मार्न देशी विदेशी प्रतिक्रियावादीहरुले राम्रैसँग टाउको उठाउने अवसर पाउने आङ्कलन गर्न थालिएको छ ।
जेनजीको सानो विरोधको आवाजलाई प्रतिकार गर्ने नाममा राज्यसत्ताले रचेको बर्बर दमन हिटलरी शैलीले अब यो देशमा केपी ओली नेतृत्वको सरकारको वैधता समाप्त भइसकेको छ । प्रधानमन्त्री ओलीले आफुलाई मुलुकको सर्वेसर्वा ठान्दै नयाँ पुस्ताको भावनालाई निरन्तर अवमूल्यन गर्दा देश नै हिंसात्मक गतिविधिमा उल्लिएको छ ।
प्रधानमन्त्री ओली र ओलीको मतियार बनेको नेपाली काङग्रेसले राज्यसत्ता आफ्नो हातमा लिएर जनताका आवाजलाई बुट र बन्दुकको निसाना बनाउँदा राज्य व्यवस्था माथि नै ठूला सङ्कक पैदा भएको छ ।
आफुलाई गणतन्त्रका हिमायती ठान्नेहरु, जनतालाई रैती ठान्नेहरुको दुस्कर्म गर्दा अनाहकमा होनाहार युवाहरुले अकालमा ज्यान गुमाएका छन् । कति बाबु आमाको काख रित्तो बनाइएको छ । काङ्ग्रेस, एमाले, माओवादी केन्द्रलगायत मधेशवादी दलका नेताहरुको औचित्य समाप्त भइसकेको छ ।
आफ्नाविरुद्ध सामाजिक सञ्जालमा आम जनताले गरेको टिप्पणीलाई सहन नसकी सामाजिक सञ्जाल नै बन्द गर्नु सरकारको असहिष्णुता र दम्भको पराकाष्ठा नै थियो । जेनजीले उठाएका माग लोकतान्त्रिक सरकार लागि सामान्य थियो । सुशासनको प्रत्याभूत, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीमाथि कारवाही र प्रतिबन्ध गरिएको सामाजिक सञ्जाल खोल्नु पर्ने बाहेक अरु केही थिएन । इतिहासमा असफल र कलङ्कित बनेको छ काङ्ग्रेस एमालेको मिलिजुली केपी ओली नेतृत्वको सरकार ।
संसदबाट अब नयाँ सरकार बन्न सक्ने अवस्था देखिंदैन । जनताले काङग्रेस र एमालेको सरकार देखिसके भोगिसके । यता दश वर्षसम्म जनयुद्ध लडेर मुलधारको राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नेतृत्व र नेता पनि भ्रष्टाचारका आहालमा चुर्लुम्म डुबेका छन् । माओवादीकै नेतृत्वमा काङ्ग्रेस, एमालेले पटक पटक सत्ता रोहण गरिसकेका छन् । तर उपलब्धी शुन्य प्रायः नै रह्यो । सर्वहारा वर्गको उत्थानको राजनीति गरेको माओवादी पार्टीका नेताहरुको संस्कार शैली र तडक भडक कुनै पुँजीवादी सामन्तको भन्दा कम देखिंदै । प्राय अधिकांश समय सत्ताकै वरिपरि रमेको माओवादीप्रति पनि जनताको नफरत छ र यो १८ वर्षको अवधिमा उस्को राजनीति, सिद्धान्त, व्यवहार, कार्यशैली र सङगठन स्खतिल हुँदै गएको छ । तसर्थः वर्तमान संसदबाट अब देशको यो विशम परिस्थितिलाई व्यवस्थापन गर्न सक्ने तागत छैन भन्ने इतिहासले पुष्टि गरिसकेको छ ।
अबको निकास भनेको प्रधानमन्त्री केपी ओलीको राजीनामा, संसद विघटन र नयाँ जनादेशका लागि मध्यावधि निर्वाचन जानुको विकल्प देखिंदैन । अबको नेतृत्व युवा पुस्तालाई सुम्पिएर हरेक राजनीतिक दलका शीर्ष नेतृत्वहरु गेरुवस्त्र धारण गरेर काशीबस्नु श्रेयकर हुथ्यो कि ?







