काठमाडौँ , कात्तिक २८ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन जानुभएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किनुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ सहभागी हुनुभएको मन्त्री खनाल आज स्वदेश फर्किनुभएको हो ।

परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा जारी कोप ३१ सम्मेलनमा सहभागी हुन गत साता त्यसतर्फ जानुभएको थियो । मन्त्री खनाल नेपालको सहभागिता टुङ्ग्याएर स्वदेश फर्किनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोप ३१ सम्मेलनमा नेपालले हिमाल तथा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, अनुकूलन तथा हानि–नोक्सानीका लागि वित्तीय सहयोग र बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरणजस्ता विषयलाई प्राथमिकताका साथ उठाएको छ।

परराष्ट्रमन्त्री खनालले स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल तथा पर्वतीय मुलुकका एजेण्डालाई कोप प्रक्रियामा स्थापित गराउन सक्रिय प्रयास गरिएको दावी गर्दै ‘नेपालका तर्फबाट पर्वतीय मुलुकका मुद्दाहरू स्थापित गराउन विभिन्न तहमा छलफल भएको छ, यस वर्षको सम्मेलनले कुनै न कुनै रूपमा हाम्रा एजेण्डालाई सम्बोधन गर्नेमा हामी पूर्ण आशावादी छौँ’ भन्नुभयो ।

कोप–३१ सम्मेलन नसकिंदै परराष्ट्र खनाल स्वदेश फर्किनुभएकोले सम्मेलनको बाँकी अवधिमा हुने विभिन्न बैठक तथा वार्ताहरूमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयले जनाएको छ ।