काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लाग्नुभएका पार्टीका सांसदहरूले छलफल गर्नुभएको छ । सभापतिको निवासमा भएको छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसदको सहभागिता रहेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि आइतबार चीन तर्फ प्रस्थान गर्दैछ ।
सांसदको टोलिले यसअघि प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि हिजो शुक्रबार भ्रमण टोलीका सांसदहरूले छलफल गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई नेपाल(चीन सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिनुभएको थियो ।
भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक पक्षहरूमा छलफल हुने रास्वपाले जनाएको छ ।
उच्चस्तरीय भ्रमणलाई रास्वपा र सिपिसीले नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताउनुभयो ।
महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरु गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।




