नयाँदिल्ली, कात्तिक २७ गते । भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने १ सय १५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन् । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिनुभएको हो ।
प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि हुनुहुन्छ । उहाँले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गर्नुभएको थियो ।
काङ्ग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश मन्त्रालयले अनुमति दिएका ३१५ वक्तामध्ये ११५ जनालाई पछि प्रवेश अनुमति दिइएन वा उनीहरूको भिसा रद्द गरियो । यो कदम सम्भवतः गृह मन्त्रालयको निर्देशनमा चालिएको उहाँले बताउनुभयो ।
थरुरले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने कुरा स्पष्ट छैन ।”
उहाँले थप भन्नुभयो, “आफूलाई आलोचनात्मक लाग्ने आवाज दबाउनुपर्ने अवस्थामा पुगेको एउटा गर्विलो लोकतन्त्रका लागि यो निकै लज्जास्पद कुरा हो ।”
नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताउनुभयो । उहाँलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।
उहाँले गत मे महिनामा ओस्लो भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीलाई प्रश्न गर्नुभएको थियो ।
यस घटनाको ‘एडिटर्स गिल्ड अफ इन्डिया’ले निन्दा गरेको छ । गिल्डले यस कदमलाई ‘प्रशासकीय अतिचार’ भन्दै सरकारलाई यसको कारण सार्वजनिक गर्न र निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
शुक्रबार हैदराबादमा सुरु भएको दुईदिने सम्मेलनमा ७० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा लोकतन्त्र, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता ९एआई० र विश्वव्यापी सहकार्यका विषयमा छलफल हुनेछ ।
यस विषयमा एएफपीले टिप्पणी माग्दै गरेको अनुरोधमा भारतको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । एजेन्सी




