किएभ, कात्तिक १७ गते । स्थानीय युद्धविराम समाप्त भएको केही घण्टापछि रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा दर्जनौँ मानिसको मृत्यु भएको छ । खार्किभमा स्वास्थ्य संस्था प्रभावित भएपछि करिब २०० बिरामीलाई अन्यत्र सार्नुपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएयता भएको सबैभन्दा लामो युद्धविराम आइतबार दक्षिणी खेरसन क्षेत्रमा समाप्त भएको थियो । त्यसबाट रुसी नियन्त्रणमा रहेको ओलेस्कीमा मानवीय सहायता अभियान सञ्चालन गर्न सम्भव भएको थियो ।

युद्धविराम सकिएपछि जापोरिज्जिया क्षेत्रमा भएको रुसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अधिकारीहरूले बताएका छन् । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभले मानवीय सहायता लिन आएका मानिसलाई रुसले लक्षित गरेको आरोप लगाउनुभएको छ । आक्रमणमा दुई उद्धारकर्मी र चार प्रहरी अधिकारीसमेत मारिएको कार्यवाहक गभर्नर मिखाइलो सेमिकिनले बताउनुभयो ।

खार्किभमा रुसी आक्रमणबाट २५ जना घाइते भएका र करिब २०० बिरामीलाई सुरक्षित स्थानमा सार्नुपरेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले बताउनुभयो । आक्रमणमा भवन, झ्याल र सवारीसाधनमा समेत क्षति पुगेको छ । युक्रेनी सेनाले खार्किभ, किएभ, डिनिप्रो र सुमीलगायत क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको छ । डिनिप्रो र राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिहका महत्त्वपूर्ण पूर्वाधारमा पनि क्षति पुगेको जनाइएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनका ऊर्जा संरचना र ओडेसा क्षेत्रका बन्दरगाहलाई लक्षित गरी ठूलो आक्रमण गरेको जनाएको छ । पोल्यान्डले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि, विशेषगरी युक्रेनसँगको सीमावर्ती क्षेत्रमा, हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ ।

यसैबीच, बेलायत र फ्रान्सले १० युरोपेली देशका करिब दुई हजार ८०० सैनिक सहभागी हुने सैन्य अभ्यास यसै महिना पोल्यान्डमा गर्ने घोषणा गरेका छन् । नयाँ बहुराष्ट्रिय बलको पहिलो अभ्यासका रूपमा हुने उक्त गतिविधि आक्रामक उद्देश्यका लागि नभएको र युद्धविराममा सहमति भएपछि मात्र बल तैनाथ गरिने जनाइएको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकफले रुस–युक्रेनबीच अमेरिकी नेतृत्वमा भइरहेको वार्ता आगामी साता पुनः सुरु हुने बताउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिए पनि ठोस सफलता प्राप्त हुन सकेको छैन ।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामले ओलेस्कीका मानिसलाई युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र र रुसले आफ्नो भूभागमा गाभेको क्रिमियातर्फ सार्न सहयोग गरेको थियो । तर, रुसले युद्धविराम विस्तार गर्ने युक्रेनको प्रस्ताव अस्वीकार गरेको एक वरिष्ठ युक्रेनी अधिकारीले एएफपीलाई बताउनुभएको छ ।

युक्रेनी सेनाले युद्धविरामको समय रुसले आफ्नो सैन्य स्थिति बलियो बनाउन प्रयोग गरेको आरोप लगाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धविरामका बेला सैन्य पुनःसमूहबद्धीकरण सामान्य अभ्यास भएको र युक्रेनी सेनाले पनि विगतमा त्यस्तै गरेको बताउनुभयो । उहाँले ओलेस्कीको मानवीय सहायता अभियानमा रुसी मानव अधिकार आयुक्त याना लान्ट्राटोभा र युक्रेनी समकक्षी दमित्रो लुबिनेट्सबीच भएको सहकार्यको प्रशंसा गर्नुभयो । क्रेमलिनले तत्काल अर्को यस्तै अभियान सञ्चालन गर्ने योजना नरहेको जनाएको छ । एजेन्सी