दाङ, कात्तिक १७ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बैठकले प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पारित गरेको जानकारी दिनुभयो ।
बैठकले प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । निजी वनका रुख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि भने सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यस्तै, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नीता पोखरेल अर्याललाई तोक्ने निर्णय भएको छ ।
पर्यटन विकास परिषद्को आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी प्रशासन अधिकृत माधव शर्मालाई दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत डा कृष्णहरि सुवेदी र सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यका (देउखुरी) मा कार्यरत सहसचिव दिवाकर भण्डारीको अनिवार्य अवकाश स्वीकृत गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत डा प्रताप पोखरेलको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।




