काठमाडौँ, कात्तिक ६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । नेकपाले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि सरकार समक्ष पहल गर्ने उद्देश्यसहित भोलि कात्तिक ७ गते शनिबारदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

नेकपाको असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले देशव्यापी रुपमा दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सो क्रममा नेकपाले केन्द्रीय सरकारदेखि स्थानीय सरकार प्रमुखसम्म र जिल्ला प्रशासन कार्यालयका प्रमुखसमक्ष मागपत्रसहित ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

अभियानका क्रममा जनताका सरोकार र माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बन्धित तहबाट आवश्यक कार्यक्रम सञ्चालन गर्ने नेकपाले जनाएको छ ।

नेकपा राष्ट्रिय जागरण अभियान सञ्चालनका कार्यक्रम यस्ता छन् ।
१) नेकपाले अभियानअन्तर्गत केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गर्ने जनाएको छ ।

२) देशका विभिन्न स्थानमा जनभेला, अन्तरक्रिया, पत्रकार सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ ।

३) राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ ।

४) पार्टीका आधिकारिक धारणा, नीति तथा कार्यक्रम नियमित रूपमा सार्वजनिक गर्ने र महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम पनि अभियानमा समेटिएको छ ।

५) प्राकृतिक विपद्बाट प्रभावित जनताको वास्तविक अवस्था सङ्कलन गरी उद्धार, राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पहल गरिने सर्कुलरमा उल्लेख छ ।

६) अभियानका क्रममा शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक विधिलाई प्राथमिकता दिइनेछ ।

७) स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता तथा सम्बन्धित तहको निर्णयअनुसार कार्यक्रमलाई लचिलो ढङ्गले सञ्चालन गरिने पार्टीले जनाएको छ ।

यसका साथै अभियानका क्रममा जनसेवाका काम गर्नुका साथै नमुनायोग्य कार्यसमेत गरिने नेकपाको कार्यक्रम छ ।