काठमाडौँ, कात्तिक १ गते । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाबीच प्रायोजनको लागि आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
विगतदेखि नै सहयोग गर्दै आएको टेलिकमले यस पटक पनि एनपीएललाई सहयोग गरेको हो । प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रममा टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एनपीएलका खेलहरु यही कात्तिक ९ गतेदेखि आगामी मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछन् ।




