तनहुँ, कात्तिक १ गते । आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट््याक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार उक्त अवधिमा चार हजार ९१८ मिटर सडक ढलान, एक हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण भएको छ । यसैगरी तीन हजार ५५४ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ ।
खानेपानीतर्फ आठ हजार ५०० मिटर नयाँ पाइपलाइन विस्तार गर्नुका साथै चारवटा सार्वजनिक धारा निर्माण गरिएको शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले एक हजार ६०० मिटर सडक मर्मत तथा सम्भार गरेको छ ।
सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । यस अवधिमा दुईवटा नयाँ भवन निर्माण र सातवटा भवन मर्मत गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
पाँच ठूला आयोजना प्राथमिकतामा
गाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँचवटा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको छ । लाब्दी बुद्धसिंह राजमार्ग जोड्ने सडक आयोजनाअन्तर्गत एक हजार ८०८ मिटर सडक निर्माण गरिएको छ । खानीखोला– रिङरोड आयोजना अन्तर्गत एक हजार ३३६ मिटर सडक पनि बनेको छ ।
यसैगरी लाब्दी–छिम्केश्वरी सडक स्तरोन्नति आयोजनाअन्तर्गत १५८ मिटर, कुसुमबारी–पौवा खोलागाउँ सडक ढलान आयोजनाको ५६० मिटर र भुजेलगाउँ पूर्वाधार निर्माण योजनाको ४१४ मिटर सडक निर्माण भएको छ ।




