काठमाडौँ, असोज २९ गते । चाडपर्व नजिकिंदै गर्दा काठमाडौँ उपत्यकामा चोरीलगायत विभिन्न उछ्रिङखल गतिविधि बढ्ने भएकाले उपत्यकाको सुरक्षालाई चुस्त बनाउन प्रहरी परिचालन गरिएको छ । चाडपर्वमा सुरक्षा चुनौती बढ्न सक्ने भएकोले उपत्यकामा यतिबेला आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

काठमाडौँ, ललितपर र भक्तपुर जिल्लामा दसैं सुरक्षा योजना लागू गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताउनुभयो । असन, इन्द्रचोक, नयाँसडक, पाटनको मङलबजार उपत्यकका भित्रका मुख्य बजार क्षेत्रमा सामान किन्न आउने कतिपय सर्वसाधारण नागरिकका मोवाइल, सुनका सिक्री, ब्यागलगायत अन्य सामानका साथै व्यापारीहरुले राखेका सरसामानसमेत चोरी हुने गरेको घटना बढ्न थालेको छ ।
चाडबाडको बेला हुने यस्ता आपराधिक घटनाहरुलाई नियन्त्रण र सवारी व्यवस्थापन गर्न चुनौती दिएको छ । डीआईजी थपलियाका अनुसार जनताको जीउधनको सुरक्षाको प्रत्याभूतका लागि उपत्यकाका विशेष स्थानहरुमा सादा पोशाकका प्रहरीलाई परिचालन गरिएको छ ।

उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, फर्पिङ, साँग, टोखा लगायतका स्थानहरुमा सुरक्षाकर्मी र नेपाल प्रहरीको तालिमप्राप्त कुकुर समेत प्रयोग गरिएको छ । सम्भावित घटनालाई नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको छ ।

यसैगरी उपत्यको चक्रपथका साथै अन्य मुख्य सडकहरुमा ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन र लापरवाही सवारी साधन चलाउनेलाई नियन्त्रण गर्न २४ घण्टा सुरक्षा जाँच गएिको छ ।