काठमाडौँ, असोज २७ गते । नेपाल आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत आज नेपालले आयोजक राष्ट्र ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आज बिहान ११:१५ बजेदेखि सुरु हुने ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो ।
यस अघि भएको पहिलो आफ्नो खेलमा नेपालले बलियो मानिने टोली क्यानडालाई पराजित गरेको थियो । गत शुक्रबार भएको खेलमा क्यानडा ओमानसँग पनि हार्न पुगेको थियो । क्यानडालाई ओमानले हराउँदा नेपालको शीर्ष ४ मा पर्ने सम्भावना समाप्त हुनपुग्यो । तर आज ओमानलाई हराउन सके नेपाल ओडीआई स्टाटस बचाउन सफल हुनेछ । यसर्थ नेपाल आज ओमानलाई हराउँदै ओडीआई स्टाटस बचाउनेतर्फ केन्द्रीत रहने छ ।
नेपालले आइतबार क्यानडासँग खेलेको पहिलो खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए । लिग २ को अङ्कतालिकामा नेपाल ३३ खेलबाट २६ अङ्कका साथ छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौंमा झरेको छ । त्यसो त ओमानले भने २९ खेल खेल्दै ३३ अङ्क जोड्न सफल भएको छ ।
शीर्ष चौंथोमा पर्न नसकेको नेपालले अब एकदिवसीय विश्वकप छनोटको यात्राका लागि प्लेअफ खेल्नुपर्ने छ । उक्त प्लेअफमा नेपालसँगै यूएई, नामिबिया र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।




