नुवाकोट, असोज २५ गते । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्नस्थानमा बेलिब्रिज निर्माण गरिएपछि रसुवा जिल्लासँग सडक सञ्चालन स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसगैँ आजबाट सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको हो ।

बेत्रावतीमा पुल निर्माण भएपछि अन्य जिल्लाहरुसँगमा पनि सडक सञ्जालमार्फत रसुवाको पहुँच स्थापित हुन पुगेको छ । यस अघि भोटेकोशी बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएसँगै रसुवा र नुवाकोटबीचको सम्पर्क टुटेको थियो ।

नेपाली सेनाले बेत्रावतीस्थित फलाखु खोलामा पाँचै दिन बेलिब्रिज निर्माण गरेपछि पुल सञ्चालनमा आएको हो ।  अब नुवाकोट र रसुवाका नागरिकलाई ओहोरदोहोर गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने भएको छ । 

नेपाली सेनाले उक्त पुल निर्माण गर्न सडक विभागसँगको समन्वयमा करिब ३०० मिटर दूरीको आगिङ्टार–बेत्रावतीको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरेर बेत्रावतीसम्मको सडक सञ्जाल र फलाखु खोलामा बेलिब्रिज जडान गरेको हो । 

उक्त बेलिब्रिजको भार बहन क्षमता ४० रहेको छ भने ७३ दशमलव दुई मिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको छ । नुवाकोटको विदुरबाट सिधैँ बेत्रावती पुग्न सकिने गरेर सडक सञ्जालको निर्माण र पुलबाट रसुवाको धुञ्चे पुग्न सहज भएको छ । बेत्रावतीको पुल तरेर पासाङल्हामु सडक मार्ग हुँदै रसुवाको धुञ्चे भएर स्याफ्रुबेँसीस्थित त्रिशूली वारीसम्म सवारीसाधनमा पुग्न सकिने भएसँगै रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्यसामाग्रीसहित अत्यावश्यक सामग्री लैजान सहज भएको छ ।

बेलिब्रिज निर्माणले गल्छी–रसुवागढी सडकअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनमा सहज भएको छ । यसभोटेकोशी बाढीले क्षति पुर्‍याएको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले बेलिब्रिज जडान गरेर नुवाकोट र धादिङलाई यातायातको सिधा सम्पर्कमा जोडेको थियो ।