काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा सज्याएर राख्ने वाक्यांशमा मात्र सीमित रहन नहुने बताउनुभएको छ । राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सो कुरा व्यक्त गर्नुुभएको हो ।
“जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन । हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ, हामी जलवायु न्यायका पक्षमा छौँ, हामीले न्याय पाउनुपर्छ ” भन्दै प्रधानमन्त्री शाहले नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ समेत भएको स्पष्ट पार्नुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बढी मात्रामा कार्बज उत्सर्जन गर्ने राष्ट्रहरूले नै बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले जलवायु न्याय अब पीडितका पक्षमा हुनुपर्ने र राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्यांश बन्न नहुने बताउनुभयो ।
प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरका सम्बन्धमा सबै पक्षले आ–आफ्ना दायित्व पूरा गरून् भन्ने पक्षमा नेपाल रहेको उल्लेख गर्दै
बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो ।
प्रधानमन्त्री शाहले साना तथा गरिब मुलुकको उपस्थिति र आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसङ्घ आजको आवश्यकता हो भन्दै “जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभई लागत कसले व्यहोर्ने, निर्णय प्रक्रियामा कसको आवाज सुनिने र भावी पुस्ताको भविष्यलाई कसरी समान महत्व दिने भन्ने विषयसँग जोडिएको छ ।”
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्लाई भूराजनीतिक विवादको विषय बनाउन नहुनेमा जोड दिँदै नेपाल सदैव जलवायु न्यायका पक्षमा रहेको दोहोर्याउनुभयो ।




