भैरहवा, भदौ १६ गते । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन् ।

कर्मचारीले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।

“समस्या परेका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीले आपसमा सल्लाह गरी रकम सङ्कलन गरेका हुन्”, उहाँले भन्नुभयो । उहाँले उद्योगमा कार्यरत कर्मचारीले पहिलोपटक यसरी स्वतःस्फूर्त रूपमा ठूलो रकम सङ्कलन गरी विपद्बाट प्रभावित परिवारका लागि सहयोग गर्न लागेको बताउनुभयो ।

उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीको सहभागितामा उक्त रकम सङ्कलन गरिएको जनाइएको छ ।