जनकपुरधाम, भदौ १२ गते । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भएकामा आज टेलिफोनमार्फत १५ जना सम्पर्कमा आएका छन् ।
हालसम्म सप्तरीका ३२, पर्साका २८, रौतहटका १५, बाराका १९, सर्लाहीका १०, महोत्तरीका १०, धनुषाका पाँच र सिरहाका आठ जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसोसम्ममा पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटका ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल सम्पर्कमा आएका छन् ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका-१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव र धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हङ्सपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार परिवारको सम्पर्कमा आएका प्रवक्ता ढकालको भनाइ छ ।
मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउन थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन गर्न थालेको प्रवक्ता ढकालले बताउनुभयो । बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेकाको खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उहाँले बताउनुभयो ।
मधेशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् । सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायले समन्वय गरी तत्काल प्रभावकारी खोजी कार्य अघि बढाउन समन्वय भइरहेको प्रवक्ता ढकालले बताउनुभयो ।
सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि वरिष्ठ प्रहरी उपरीक्षक ढकालले आग्रह गर्नुभयो ।
भोटेकोशी बाढीः सुदूरपश्चिम प्रदेशका १० जना सम्पर्कमा
सुदूरपश्चिम प्रदेशका १० व्यक्ति सम्पर्कमा आएका छन् । भोटेकोशी बाढीका कारण रसुवाको धुञ्चेबाट उहाँहरु सुरक्षित स्थानमा रहनुभएको थियो । बाढी कम हँुदै गएपछि उहाँहरु प्रहरीको सम्पर्कमा आएका हुन् । सुदूरपश्चिमका १३० व्यक्ति अझै सम्पर्कमा आउन सक्नुभएको छैन ।
प्रहरीको सम्पर्कमा कञ्चनपुर र डडेल्धुराका व्यक्ति रहेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । सुनिल चौधरी, चन्दा जोशी, अजय राना, सुरेश राना, सन्तोश राना, बेलौरीका नवीन चौधरी, आर्दश चौधरी, कञ्चनपुरकै राकेश भट्ट, प्रदीप चन्द र डडेल्धुराका सुनिल बुढामगर प्रहरीको सम्पर्कमा आएका छन् ।
उनीहरु मध्ये सात जना हाइड्रोपावरमा काम गर्ने व्यक्ति हुन् भने चन्दा नर्सिङकी विद्यार्थी हुन् । अन्य दुई जना किन त्यहाँ गएका थिए रु भन्ने खुलेको छैन । १० जना सकुशल भेटिएसँगै सम्पर्कविहीन भएका व्यक्तिको सङ्ख्या १३० जना रहेका छन् । प्रवक्ता विष्टका अनुसार कैलालीका ४९, कञ्चनपुरका ३४, बाजुराका १४, डडेल्धुराका १७, बैतडीका आठ, दार्चुलाका चार, डोटी र बझाङका दुई/दुई जना र अछामका एक जना अझै सम्पर्कविहीन छन् ।
सुदूरपश्चिम घर भएर कामको सिलसिलामा रसुवा पुगेका मजदुर, कर्मचारी तथा सुरक्षाकर्मी बाढीमा परेर सम्पर्कविहीन भएको जनाइएको छ ।




