विराटनगर, भदौ ८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको तीन बुँदे सहमतिअनुसार मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् हेरफेर भएको थियो । त्यसअगाडि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।

यसअघि नेपाली काङ्ग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म विश्वासको मत नलिने अडानमा रहनुभएका कार्कीले १७ जना सांसदसहित नेपाली कम्युनिस्ट पार्टी सरकारमा सहभागी भएसँगै विश्वासको मत लिने तयारी गर्नुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।

हाल कोशी प्रदेशसभामा ९२ सदस्य छन् । जसमा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी कुल ५७ जना प्रदेशसभा सदस्यको समर्थन कार्कीको पक्षमा छ । भने प्रदेशसभामा काङ्ग्रेसका २९ सदस्य, राप्रपाको सभामुखसहित ५ सदस्य र जसपाको १ सदस्य रहेका छन् ।