बागमती, भदौ ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिनुहुने भएको छ । यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १:०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली काङ्ग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ ।




