काठमाडौँ, भदौ २ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेले बागमती प्रदेशमा प्रदेशसभा सदस्य किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आज मङ्गलबार बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।


मुख्यमन्त्री पदका लागि एमाले नेताहरूबीच विवाद चर्किरहेको बेला आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको टुङ्गो लगाएको हो । आज मङ्गलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूको छलफलले बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापा र बागमती प्रदेश दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटेको हो । यसअघि बागमती प्रदेश सभाका एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमालेले पाएको हो ।


बागमती प्रदेशसभामा काङ्ग्रेसको ३६ सिट, नेकपाको २६ सिट, नेकपा एमालेको उपसभामुखसहित २५ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२ सिट, नेपाल मजदुर किसान पार्टीको ३ सिट र हाम्रो नेपाली पार्टीको २ सिट गरी १०४ सदस्यीय रहेको छ । बागमती प्रदेशसभामा राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ ।


सरकार गठनका लागि ५३ जना सदस्यको बहुमत आवश्यक हुन्छ । एमाले र नेकपाको सहकार्यबाट मात्रै सरकार बनाउँदा २ सिट सदस्य अपुग हुने हुँदा सरकार गठनको प्रक्रियामा अन्य साना दलको साथ अपरिहार्य देखिन्छ ।