बाजुरा, भदौ २ गते । मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दासम्म निर्माण पूरा भएको छैन । उक्त सडक विंस २०५६ देखि सुरु भएको हो । प्रदेश गौरवका रुपमा रहेको उक्त सडक निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजना अलपत्र परेका हो । सडक निर्माण एवं स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ । काममा ढिलाइ हुँदा विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसकी हरेक वर्ष फिर्ता गएको हो । विनियोजन भएको बजेटमध्ये रु ३३ करोड फिर्ता गएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जङ्गबहादुर थापाले आर्थिक वर्ष २०८२÷८३ मा मार्तडी–कोल्टी सडकमा रु २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा रु १३ करोड ५० लाख रकम काम नभई फिर्ता गएको जानकारी दिनुभयो ।

मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा बानियाँ निर्माण सेवाले पाएको थियो । “गत वर्ष मात्र होइन, अघिल्ला वर्षमा समेत ठेकेदारको ढिलासुस्तीका कारण बजेट फिर्ता हुन्थ्यो ।”, उहाँले भन्नुभयो , आर्थिक वर्ष २०८१÷८२ मा उक्त सडकका लागि रु १५ करोड बजेट विनियोजन भएको थियो ।

जिल्लाको अर्को प्रदेश गौरवको सडक खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि रु १६ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । तर, २०७८ चैत १६ गते ठेक्का सम्झौता गरेको के।एस।एम।के।बि।सी÷तेज जेभी, धनगढी कैलालीले आर्थिक वर्षभरिमा करिब दुई करोड ५० लाख बराबरको काम गरेकाले बाँकी बजेट फिर्ता गएको छ ।

मार्तडी–कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न २०७७ असारमा ठेक्का सम्झौता गरिएको थियो । पीएस बानियाँ निर्माण सेवाले रु ५० करोड १७ लाखमा ठेक्का प्राप्त गरी तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडकको कूल लम्बाई ४१ किलोमिटर छ । ४१ किमी सडकका निर्माण पुरा गर्न रु ९८ करोडमा लागत टेन्डर आह्वान गरिएको थियो । हालसम्म ५० प्रतिशत काम भएको छ ।

यो सडकको २६ किलोमिटर बाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि रु ५८ करोड बजेट विनियोजन भएको थियो । पहिलो खण्डअन्तर्गत मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडकमा धेरै काम सम्पन्न भए पनि चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर कालोपत्र गर्ने काम अधुरो छ ।