वासिङ्टन, साउन १३ गते । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई प्रतिरक्षा सुदृढ गर्न अमेरिकी सहयोग अझ विस्तार हुने विश्वास व्यक्त गर्दै अमेरिकी सिनेटले रुसविरुद्धको प्रतिबन्ध विधेयक अगाडि बढाउन गरेको प्रक्रियागत मतदानलाई ‘शान्तितर्फको पहिलो कदम’ का रूपमा स्वागत गर्नुभएको छ ।

ह्वाइट हाउसमा एक घण्टाभन्दा बढी चलेको भेटपछि राष्ट्रपति जेलेन्स्कीले फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पसँग सकारात्मक छलफल भएको बताउनुभयो । उहाँका अनुसार ट्रम्पले प्याट्रियट हवाई रक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउने सहमति जनाउनुभएको छ । त्यसपछि आफूले अमेरिकी रक्षा उद्योगका प्रमुख कम्पनीका प्रतिनिधिसँग भेट गरी सहउत्पादन र प्रविधि आदानप्रदानबारे पनि छलफल गर्नुभएको जानकारी दिनुभयो।

यसै क्रममा उहाँले अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनका प्रतिनिधिसँग भएको भेटमा एटीएसीएमएस, हिमार्स, एफ–१६ तथा प्याट्रियट प्रणालीसम्बन्धी सहकार्य विस्तार, संयुक्त उत्पादन र युक्रेनको हवाई प्रतिरक्षा क्षमता अभिवृद्धिबारे विस्तृत छलफल भएको उल्लेख गर्नुभयो । उहाँले युक्रेनसँग पनि सहकार्यका लागि उपयोगी अनुभव र प्रविधि रहेको बताउँदै दुवै पक्षका टोली सहउत्पादनको कार्ययोजना अघि बढाइरहेको जानकारी दिनुभयो ।

भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बैठक निकै सफल भएको र दुवै पक्षबीच धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको उल्लेख गर्नुभएको थियो ।

वासिङ्टन भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटमा दुवै दलका ६० भन्दा बढी सिनेटरसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँले विशेषगरी एन्टी–ब्यालिस्टिक प्रतिरक्षा प्रणाली, युक्रेनलाई निरन्तर अमेरिकी सहयोग तथा रुसको आक्रमणको प्रतिकार गर्ने क्षमताबारे छलफल भएको बताउनुभयो ।

उहाँले रुसविरुद्धको प्रतिबन्ध विधेयक अगाडि बढाउन अमेरिकी सिनेटले ८६–१२ मतले गरेको प्रक्रियागत मतदानलाई स्वागत गर्दै यसलाई दिवङ्गत रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको पहललाई अघि बढाउने महत्त्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो । ग्राहम लामो समयदेखि उक्त विधेयकका प्रमुख समर्थकमध्ये एक हुनुहुन्थ्यो । जेलेन्स्कीले मतदानका क्रममा सिनेटमा उपस्थित हुन पाउनु सम्मानको विषय भएको बताउँदै यसले शान्ति स्थापनाको प्रयासलाई बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिनेटको विदेश सम्बन्ध समितिसँग आबद्ध डेमोक्रेट सिनेटर जीन शाहिनले पनि उक्त मतदानपछि अब रुसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले युक्रेनमाथि भएको विनाशको जिम्मेवारी रुसले वहन गर्नुपर्ने समय आएको धारणा व्यक्त गर्नुभयो ।

युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भएका कूटनीतिक प्रयास प्रभावकारी हुन नसकिरहेका बेला युक्रेनले आफ्नो हवाई प्रतिरक्षा क्षमता विस्तार र रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखेको छ । यही उद्देश्यका साथ राष्ट्रपति जेलेन्स्कीले वासिङ्टन भ्रमणका क्रममा अमेरिकी राजनीतिक नेतृत्व र रक्षा उद्योगसँग उच्चस्तरीय संवादलाई तीव्रता दिनुभएको हो ।