काठमाडौँ, असार ३२ गते । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले गैरकानुनी सम्पत्ति आर्जन र आईटी खरिदमा घुस लिएको दुई बेग्लाबेग्लै मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गरेको सो फैसलामा दोषी ठहर गरेको हो ।
गैरकानुनी सम्पत्ति आर्जनमा दु्ई वर्ष कैद र १२ करोड ७५ लाख रुपैयाँ बिगो तथा त्यस बराबर जरिवाना तोकिएको छ भने आईटी खरिदमा सजाय निर्धारण गर्न बाँकी रहेको छ । सजाय निर्धारणका लागि बिहीवार पेशी तोकेको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
गैरकानुनी सम्पत्तिको मुद्दामा यति ठूलो रकम बिगो ठहर गरेको यो अत्यन्त थोरै मध्येको मुद्दा हो । उनले पीडित राहत कोषमा ५१ लाख रुपैयाँसमेत जम्मा गर्नुपर्नेछ । आईटी खरिदमा ३ करोड ८ लाख रुपैयाँ घुस लिएको अदालतले ठहर गरेको थियो । सिंगापुरको बैंकमा रकम लुकाएकालाई आधार मानेर अदालतले पौडेललाई दोषी ठहर गरेको थियो ।
पौडेलले सार्वजनिक पदको दुरुपयोग गर्दै सिंगापुरस्थित बैंक खातामार्फत विदेशी कम्पनीहरूबाट करोडौँ रुपैयाँ कमिसन र घुस लिएका थिए । अख्तियारले बरामद गरेका विद्युतीय उपकरणको फरेन्सिक परीक्षण र सिंगापुरका आधिकारिक निकायबाट प्राप्त बैंक विवरणका आधारमा अदालतले उनको खातामा जम्मा भएको रकमलाई गैरकानुनी आर्जनको स्रोत मानेको हो । अख्तियारले पौडेलको घरबाट ग्याजेट र उपकरणहरू बरामद गरेर त्यसको परीक्षण गरेको थियो । त्यस क्रममा सिंगापुरबाट कारोबार भएको विवरण खुलेको थियो ।
जबकि अदालतमा बयान लिँदा उनले विदेशमा आफ्नो बैंक खाता नभएको दाबी गरेका थिए । सिंगापुरस्थित आधिकारिक निकायबाट प्राप्त पत्र एवं इलेक्ट्रोनिक्स डिभाइसको फरेन्सिक प्रतिवेदनका आधारमा पौडेलले सिंगापुरमा बैंक खाता खोलेको समर्थित हुने देखिएको भन्दै विशेष अदालतले त्यहाँ उनले डिपोजिट गरेको रकमलाई समेत गैरकानुनी आर्जन भनेको हो । त्यहाँ उनको खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी रकम डिपोजिट थियो । अदालतले वैध आम्दानीभन्दा धेरै सम्पत्ति जोडिएको निष्कर्ष निकाल्दै विदेशी बैंक खातामा रहेको रकमसमेत भ्रष्टाचारबाट आर्जित सम्पत्तिको रूपमा स्वीकार गरेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा सूचना प्रविधिसम्बन्धी ठेक्कापट्टामा मिलेमतो गरी आफूअनुकूल कम्पनीलाई लाभ पु¥याएको, त्यसबापत विदेशी आपूर्तिकर्ताबाट सिंगापुरस्थित खातामार्फत कमिसन र घुस लिएको अभियोग पनि अदालतबाट प्रमाणित भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा पौडेल विभिन्न ठेक्कापट्टाको काममा कागजात बनाउनेदेखि कोटेसनका मापदण्ड बनाउने काममा संलग्न रहेको भन्दै अख्तियारले २०८१ वैशाखमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसक्रममा वल्र्ड डिस्ट्रिब्युसन नेपाल, ओम्नी बिज्नेसन कर्पोरेट इन्टरनेसनल (ओबीसीआई), म्याक्स इन्टरनेसनल अनि नेक्स जेन सोलुसनलगायतका कम्पनीहरूलाई ठेक्का दिएका थिए । अख्तियारले अनुसन्धान गर्दा, विदेशी कम्पनीहरूले कमिसनवापत पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा रकम हालिदिएको भेटिएको थियो ।
पौडेलले नेपाल र सिंगापुरमा गरी २४ करोड ९४ लाख रुपैयाँ सम्पत्ति जोडेको अख्तियारको दाबी थियो, त्योमध्येको २३ करोड ७५ लाखलाई गैरकानुनी र स्रोत नखुलेको सम्पत्ति भनेको थियो । विशेष अदालतले अख्तियारको सबै दाबी भने स्विकार गरेको छैन । विशेष अदालतले उनको खातामा भेटिएको बाहेक पुरानो कारोबारलाई भने भ्रष्टाचार मानेको छैन ।
त्यसैगरी पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरूसँग मोलमोलाई गरी गैरकानुनी कमिशन लिएको अख्तियारको दाबी थियो । अख्तियारले ठेक्कापट्टा र टेण्डर कोटेसनमा संलग्न रहेको भनी नाम जोडेका नेपाली आईटी कम्पनीहरू विभिन्न विवाद र अनियमिततामा जोडिएका छन् ।(नेपाल समाचारपत्रबाट)




