ललितपुर, असार २० गते । राष्ट्रिय सहकारी महासङ्घले १०४औँ अन्तरराष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले सहकारीप्रतिको जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहकारी क्षेत्रको योगदानको चर्चा गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धिमा सहकारीलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले आफ्नो नेतृत्वमा ५८ दिनको अवधिमा समस्याग्रस्त सहकारीबाट रु छ करोडभन्दा बढी असुली गरी रु चार करोड ५० लाखभन्दा बढी बचतकर्तालाई फिर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई सहकारी संस्था समस्यामुक्त भई पुनः सञ्चालनमा आउने प्रक्रियामा छन् ।

महासङ्घका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सीमित सहकारीमा देखिएका समस्याका कारण समग्र सहकारी अभियान कमजोर भएको बताउनुभयो ।

महासङ्घका सल्लाहकार लीलामणि पोखरेलले सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र अनुशासन सुदृढ गर्न आवश्यक भएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उषा झाले समाज, समुदाय र सहकारीबीचको सहकार्यले दिगो विकास र शान्ति प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभयो ।

सहकारी विभागका रजिस्ट्रार बाबुराम गौतमले संस्थागत सुशासन, इमानदारी, पारदर्शिता र सदस्यकेन्द्रित कार्यशैलीमार्फत सहकारीप्रतिको जनविश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा पाँच विधामा उत्कृष्ट सहकारी सङ्घ, संस्था, सहकारी अभियन्ता, कर्मचारी र पत्रकारलाई सम्मान गरिएको थियो ।