काठमाडौँ, असार १९ गते । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त डेढ वर्षदेखि रिक्त रहँदै आएको प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आज शुक्रबार बसेको परिषद् बैठकले सो निर्णय गरेको हो ।
परिष्दले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयोगका रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बालाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरुको बारेमा छलफल नै नगरी बहुमतको आधारमा सिधै सिफारिस गरिएको भन्दै प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे आपत्ति जनाउनु भएको थियो।
प्रमुख निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ । अब उहाँले सो पदबाट राजिनामा दिएर संसदीय सुनुवाई समितिमा प्रस्तुत हुनुपर्ने छ ।
त्यसैगरी परिषद्ले सिफारिस गरेको दुई आयुक्तहरुमध्ये पूर्वडीआईजी डा. राजीव सुब्बा हुनुहुन्छ भने अर्का अवकाशप्राप्त गुरुप्रसाद वाग्ले मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आवद्ध हुनुहुन्थ्यो ।
काङ्ग्रेस संसदीय दलका नेता आङ्देम्बे संवैधानिक परिषद्को आगामी बैठकहरुमा संवैधानिक निकायमा नियुक्तिका लागि प्रस्तावित गरिने व्यक्तिहरूको बारेमा पर्याप्त छलफल गरेर मात्रै सिफारिसको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्का अध्यक्ष एवम् धानमन्त्रीलाई सुझाउनुभएको छ।




