काठमाडौँ, असार १९ गते । नेपाली काङ्ग्रेसको संस्थापन पक्षको विपक्षी समूहले राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवा समूहले निकट भविष्यमै राष्ट्रिय भेला बोलाउने तयारी गरेको हो ।


देउवा समूहको आज शुक्रबार बसेको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेता पनि भेला कहिले र कहाँ बोलाउने भन्ने यकिन निर्णय गरेको छैन । देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा भएको बैठकले देशका सबै ७ प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । यस अघि सो समूहले सबै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ ।


देउवा समूहले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई लक्षित गरी यही असार २२ गते औपचारिक रुपमा सम्पर्क कार्यालय स्थापना र सोही दिन बस्ने सो समूहको बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने बताइएको छ । देउवा समूहका नेताहरुको बैठकमा सो समूहका का.वा.सभापति खड्कासहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला, महालक्ष्मी (डिना) उपाध्याय, रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरूको उपस्थिति रहेको थियो ।


देउवा समूहको आसन्न भेलाले पार्टीलाई विभाजन तिर लैजाने विश्लेषण भइरहेको छ । सो समूहले केही समय अघि मिलेर जानेभन्दा पनि अलग पार्टी गठन गरेर जाने विषयमा पनि अनौपचारिक छलफल चलाएको थियो । गत वर्ष भदौमा भएको जेनजी आन्दोलन पछि नेपाली काङ्ग्रेस सार्वजनिक रुपमै दुई समूहमा विभाजित छ । पार्टीमा आफ्नो बर्चस्व स्थापित हुने भए मात्रै देउवा समूह काङ्ग्रेसको वर्तमान नेतृत्वसँग सहमति गरेर अघि बढ्न चाहेको देखिन्छ ।