काठमाडौँ, असार ११ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले त्रुटिपूर्ण नतिजा सार्वजनिक भएपछि उत्पन्न विवादका सम्बन्धमा अध्ययन अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । हालै कक्षा १२ को सार्वजनिक गरिएको नतिजा त्रुटिपूर्ण भएको भन्दै विद्यार्थी र अभिभावकहरुले समेत विरोध गरेपछि सरकारले सो सम्बन्धमा अध्ययन अनुसन्धान गर्न एक छानविन समिति गठन गरेको हो ।
शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेतको प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसनको काम गठित समितिले गर्ने छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू प्लेकार्ड लिएर माइतिघर मण्डलामा आन्दोलित भएका छन् । विद्यार्थीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्क पनि अत्यन्त महँगो र अव्यवहारिक भएको भन्दै विरोध जनाएका छन् ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएपछि नतिजा त्रुटिपूर्ण भएको भन्दै चर्को विरोध हुँदै आएको छ ।




