काठमाडौँ, असार २ गते । सिंहदरबारस्थित ऐतिहासिक ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा) को प्रबलीकरण कार्य तोकिएको समयमै सम्पन्न गर्न सांसदहरूले जोड दिनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सांसदहरूले सामूहिक रूपमा सो कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।
बैठकमा सहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशकसँग निर्माणाधीन भवनको प्रगति अवस्थाबारे छलफल गरिएको थियो । यसै क्रममा विभागका उप–महानिर्देशक एवं विशेष भवन निर्माण आयोजनाका निर्देशक रोशन श्रेष्ठले हालसम्म भवनको ३९ प्रतिशत भौतिक कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
यसैगरी, कुल बजेटको २८ प्रतिशत रकम खर्च भएको पनि बताउनुभयो । प्रेरा निर्माण सेवा प्रालिले ३९ करोड ८४ हजार ९४३ बजेटमा २०८२/२/६ मा भवन प्रवलिकरणको सम्झौता गरेको थियो । यद्यपि विभिन्न प्राविधिक कारणले गर्दा सम्झौता लगत्तै कार्य सुरु हुन नसकेको निर्देशक श्रेष्ठले बताउनुभयो ।
गत वर्ष भदौ २३ र २४ को घटनाले आगो लागेर भवनमा क्षति पुगेको थियो । पछिल्लो थप म्यादअनुसार २०८३ मङ्सिरसम्म पूर्ण रूपमा कार्य सम्पादन गर्नुपर्ने भएकाले बैठकमा सांसदहरूले समयमै भवन तयार पार्न निर्देशन दिनुभएको हो । निर्देशक श्रेष्ठ भवनको सबैभन्दा जटिल कार्य जग प्रबलीकरण कार्य भएकाले यो भागको ५५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । “जग बसालेपछि अरू भित्ता र झ्याल कोठा प्रबलीकरण गर्न सजिलो हुँदैछ,” उहाँले भन्नुभयो, “काम तोकिएकै समयमा सकिनेछ ।”
उहाँले भवनको भुर्इं तला ढलान कार्य भइरहेको र भित्तामा ज्याकेटिङ गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो । यति हुँदाहुँदै पनि भवन प्रबलीकरणमा विभिन्न चुनौती सामना गर्नुपरेको उहाँले सुनाउनुभयो । निर्माण स्थलमा आइपुग्न कामदारको प्रवेशमा कठिनाइ गरिनु, निर्माण स्थलमा निर्माण सामग्री ढुवानीमा समस्या हुनु, कामदारलाई निर्माण स्थलमा राख्ने व्यवस्था गरिए पनि बस्न नपाइनेलगायत समस्याले गर्दा भवन प्रबलीकरणमा ढिलाइ भएको निर्देशक श्रेष्ठले सुनाउनुभयो ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ग्यालरी बैठक ९पुरानो संसद्० भवन निर्माणको कार्ययोजना सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गरिएको थियो । विभागका उप–महानिर्देशक एकराज अधिकारीले भवनको भौतिक संरचना प्रबलीकरणसँगै त्यसको सौन्दर्य, प्रयोग र सरंक्षणको समेत ख्याल गर्नुपर्ने हुँदा संवेदनशील भएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
बैठकमा समितिका सभापति पूजा चौधरीले सिंहदरबारको ग्यालरी भवन राज्यको सम्पत्ति भएकाले त्यसको संरक्षण र व्यवस्थापन यथाशीघ्र गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गोमादेवी तिमल्सिना, चन्द्रबहादुर केसी, पदमबहादुर परियार, मदनकुमारी शाह (गरिमा), मीना सिंह रखाल, युवराज शर्मा, रुक्मिणी कोइराला, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेलले ग्यारी भवन प्रबलीकरणमा ढिलाइ नगर्न निर्देशन दिनुभएको थियो ।






