काठमाडौँ, वैशाख २९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।

स्कटल्यान्डले नेपाललाई जितका लागि २४४ रनको लक्ष्य दिएको थियो । तर नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षा अवरोध भएको थियो । त्यसपछि खेल डकवर्थ–लुइस पद्धतिका आधारमा  नेपालले ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाएको थियो ।  जसमा नेपाल ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमा समेटियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ३५ बलमा २ चौका र ५ छक्काको सहयोमा अविजित ६१ रन बनाएका हुन् ।

त्यस्तै,  उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय इनिङ खेले । आसिफ शेख २१, कप्तान रोहित पौडेल ३२ तथा करण केसी १८ रनमा आउट भए । नन्दन यादव ८ रनमा अविजित रहे ।

बलिङतर्फ स्कटल्यान्डका ब्राड करिले ३, मार्क वाटले २ तथा ओलिभर डेविडसन र ज्याक जाभ्रिसले समान १र१ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको योगफल  बनाएको थियो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

त्यस्तै, फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल इङ्ग्लिस ३४ रनमा अविजित रहे । अन्त्यतिर माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन थपेपछि स्कटल्यान्ड सम्मानजनक योगफलतर्फ पुगेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करण केसी र नन्दन यादवले समान २र२ विकेट लिए ।