ललितपुर, वैशाख २९ गते । समालोचक तथा प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई रु एक लाख नगदसहितको पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष थापाले मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले भाषाको सम्मान हुने बताउनुभयो । “हालसम्म धेरै गरिमा बोकेका व्यक्तिहरूले यो पुरस्कार प्राप्त गरेका छन्, यो राम्रो पक्ष हो । मातृभाषालाई माया गर्नेलाई सम्मान गरेर देशको भाषिक विविधतालाई कायम राख्न हामी सबै क्रियाशील हुनुपर्छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष थापाले सबै जातीय संस्थाहरूले गर्ने मातृभाषाका सम्मान तथा पुरस्कार कार्यक्रमलाई मातृभाषामा नै सञ्चालन गर्ने अवस्था मिलाउन आग्रह गर्नुभयो ।
आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामाले मातृभाषा संरक्षण र संवर्द्धनका लागि यस्तो सम्मान महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले भाषिक र जातीय विविधतालाई सम्मान गर्दै यसको मौलिकता र अस्तित्वलाई ध्यान दिएर काम गर्न राज्यले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका पूर्वउपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक जितपाल किरातले तुलाधरले कायम गर्नुभएको प्रतिष्ठा र योगदानको मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले युनेस्कोको अध्ययनअनुसार नेपालमा बोलिने एक सय २४ भाषामध्ये ६० वटा जति भाषा लोपोन्मुखको सूचीमा रहेको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यतालाई जीवन्त राख्न योगदान गर्नेहरूको सम्मान गरिनुपर्ने धारणा राख्नुभयो ।
पुरस्कृत व्यक्तित्व प्राध्यापक तुलाधरले यस सम्मानले आफू मात्र नभई नेपाल भाषा र सबै मातृभाषालाई सम्मान गरिएको महसुस गरेको बताउनुभयो । उहाँले पुरस्कारले मातृभाषाको संरक्षण र संवर्द्धनमा थप जिम्मेवारी र दायित्व बढेको बताउनुभयो ।
पुरस्कृत व्यक्तित्व प्राध्यापक तुलाधर नेपालभाषा भाषा, साहित्य, समालोचना तथा सांस्कृतिक अध्ययनका प्रतिष्ठित अध्येता तथा अवकाश प्राप्त प्राध्यापक हुनुहुन्छ । विसं २००८ मा काठमाडौँको भोटाहिटीमा जन्मिनुभएका उहाँ हाल कपुरधारामा बसोबास गर्दै आउनुभएको छ । उहाँको पहिलो रचना ‘जीवन व सङ्घर्ष’ नेपाल संवत् १०८८ मा ‘सितु’ पत्रिकामा प्रकाशित भएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका तुलाधरले पद्मकन्या क्याम्पसमा ३५ वर्ष र नेपालभाषा केन्द्रीय विभागमा पाँच वर्ष प्राध्यापन गर्नुभएको त्यस अवसरमा जानकारी दिइयो । उहाँले ‘पलेस्वां पुचः’ गठन गरी नेपालभाषा साहित्यिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
प्राध्यापक तुलाधरको ‘नेपालभाषा साहित्यया इतिहास’ नेपालभाषा साहित्यको इतिहाससम्बन्धी पहिलो पुस्तक मानिन्छ, जुन हाल विश्वविद्यालय तहमा पाठ्यपुस्तकका रूपमा अध्ययन गराइन्छ । उहाँले एक दर्जनभन्दा बढी पुस्तक लेख्नाका साथै थुप्रै पुस्तक सम्पादन गर्नुभएको छ ।
नेपाल तथा विदेशमा आयोजित विभिन्न प्राज्ञिक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुभएका उहाँ नेपालभाषा एकेडेमीको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ का संयोजकसमेत रहनुभएको थियो । नेपालभाषा साहित्य र शिक्षामा योगदान पु¥याएबापत उहाँले श्रेष्ठ सिरपा, वैकुण्ठ लाकौल सिरपा, गिरिधरलाल नेपालभाषा सिरपालगायत विभिन्न सम्मान प्राप्त गरिसक्नुभएको छ ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख रामकुमार मादेनले हरेक वर्ष फेब्रुअरी ९ तारिकका दिन मातृभाषा दिवसका अवसरमा प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।





