काठमाडौँ, वैशाख २८ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको २१औँ अधिवेशन शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उहाँले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखी छलफलमा सहभागी हुन आग्रह गर्नुभयो ।

“यो २१औँ अधिवेशन बजेट अधिवेशनको रूपमा रहेको छ । यसमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुनेछ”, अध्यक्ष दाहालले भन्नुभयो, “सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा, नेपाल प्रहरीलगायतका विधेयकलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।”

विगतमा विधेयकको निरन्तरता कायम गर्न नसक्दा मुलुकका तत्कालीन आवश्यकता सम्बोधन गर्ने महत्त्वपूर्ण विधेयक निष्क्रिय हुन पुगेको सन्दर्भ उल्लेख गर्दै उहाँले तालिकाबद्ध बैठक सञ्चालन, समयमै विधेयक दर्ता, समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्ने बताउनुभयो ।

अध्यक्ष दाहालले यसै अधिवेशनबाट संसद् बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुआत गरिएको जानकारी दिनुभयो ।