सुर्खेत, वैशाख २८ गते । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण हुने भएको छ । उक्त भवन निर्माणका लागि आज मुख्यमन्त्री यामलाल कँडेलले शिलान्यास गर्नुभयो । प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार, भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख रुपैयाँ थियो । ठेकदार कम्पनीले १६ करोड ८४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एण्ड विराट जेभी काठमाडौँ लिएको छ । “अहिले सञ्चालित ओपीडीको संरचना ५० शैय्याको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले ३०० शैय्यामा छ”, सूचना अधिकारी ज्ञवालीले भन्नुभयो, “त्यसकारण भीड धेरै हुन्छ । थेग्न सक्ने अवस्था छैन ।”

प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपिडी भवन निर्माण गर्न लागिएको हो । आगामी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ ।