काठमाडौँ, वैशाख १४ गते । नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको बताउनुभएको छ । आज सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले कानुन बन्ने कुरा जनताको थलो संसदबाट पारदर्शी हुनुपर्ने बताउनुभएको हो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले भन्नुभयो, ‘सरकारले प्रस्ताव गरेर संसद्को अधिवेशन बोलाइसकेपछि बिना जानकारी फेरि संसद् स्थगित भएको पायौं । एकातिर बोलाइएको संसद् स्थगित गर्ने अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन ।’

यसरी अध्यादेश ल्याउने तयारी हुँदा त्यसले सरकारलाई अनुकूलता प्रदान नगर्ने उहाँले तर्क रहेको छ । जनताको थलोमा हरेक कुरा पारदर्शी रुपमा छलफल हुनुपर्ने भन्दै प्रवक्ता चालिसेले बोलाइएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन खोज्नु उचित नभएको उल्लेख गर्नुभयो ।