थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी वस्ती
काठमाडौँ, वैशाख १२ गते । सरकारले नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा अनधिकृत रुपमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरू हटाउँदै छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत् सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा अनधिकृत रुपमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरू आज शनिबारदेखि हटाउन लागेको हो।

काठमाडौँ उपत्यकाका, बागमती नदी, हनुमन्ते खोला लगायत नदी तथा खोला किनारामा लामो समयदेखि बस्दै आएका सुकुम्वासीहरुलाई विगतमा पनि हटाउने प्रयास हुँदै आएको थियो । प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रबार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो । उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते शनिबार बिहानैदेखि अनधिकृत रुपमा बसोबास गर्दै आएका घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाउन थालिएको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो शुक्रबार सूचना जारी गर्दै प्रहरीद्वारा माइकिङ गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देशन गरेको छ ।

बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ । स्थानीय प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुम्वासीहरूको पहिचान र लगत सङ्कलन गर्ने र वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूलाई उचित बसोबासको व्यवस्था मिलाउने तयारी गरेको छ ।

बागमती नदी किनारालगायत काठमाडौँ उपत्यकाका खोला किनारामा घरटहरा बनाएर बस्दै आएकाहरुलाई हटाउन सरकारले पटक पटक प्रयास गरेता पनि सफल हुन सकेको थिएन । विगतमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुकुम्वासीहरुलाई नदी किनाराबाट हटाइ सुविधायुक्त घर निर्माण गरेर राख्न प्रयास भएको थियो । सुकुम्वासीलाई राख्न निर्माण गरिएको घरमा सुकुम्वासीहरु जान नमानेपछि उक्त भवन प्रयोगमा आएको छैन ।