काठमाडौँ, वैशाख ११ गते । सङ्घीय राजधानी काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा बस्दै आएका सुकुमबासीले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले डोजर चलाएर बस्तीका संरचना भत्काउने तयारी गरेको सूचना पाएपछि सुकुमवासीहरुले आज शुक्रबार बिहानदेखि सामान सार्न थालेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते बुधबार गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएलगत्तै सुरक्षा निकाय प्रमुखहरुलाई बोलाएर छलफल गरी सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिनुभएकाले प्रहरीले हिजो बिहीबार साँझ थापाथलीसहित चार सुकुमवासी बस्तीमा माइकिङ गर्दै बस्ती खाली गराउन सूचना दिएको थियो ।
प्रहरीले हिजो बिहीबार साँझ महानगरको टोलीले थापाथली, सिनामङ्गल लगायतका क्षेत्रमा बस्ती खाली गर्न माइकिङ गरेको थियो । भोलि शनिबार साँझसम्म बस्ती खाली गर्न र अटेर गर्नेका संरचना भत्काइने, त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिका लागि आफैँ जिम्मेवार हुनुपर्ने चेतावनीसमेत दिएको थियो ।







