बागमती, वैशाख ११ गते । मकवानपुरका स्थानीय तहहरुले पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह प्रारम्भ गरेका छन् । प्रशासनिक सङ्घीयता कार्यान्वयनका क्रममा सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन थालेको हो ।
सोही नीतिअनुरुप आन्तरिक राजस्व कार्यालय मकवानपुरको समन्वयमा जिल्लाको मनहरी गाउँपालिका र बागमती गाउँपालिकाले करदाता सेवा सुरु गरेका हुन् ।
बागमती गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीले सेवाग्राहीलाई व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर प्रदान गर्नुभयो ।
कार्यालय प्रमुख सुवेदीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी तथा आयकरसम्बन्धी काम हुनेछ । साथै अन्तःशुल्कसम्बन्धी इजाजत तथा नवीकरणका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पनि पालिकाबाटै हुनेछ ।
आगामी महिनााभित्र मकवानपुरका चारवटा पालिकामा करदाता सेवा सञ्चालनको तयारी भएको छ । बकैया गाउँपालिका र थाहा नगरपालिका सेवा सञ्चालनको सूचीमा छन् ।







