काठमाडौँ, वैशाख ११ गते । नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । काङ्ग्रेसले सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयनको प्रक्रिया अघि बढाएको हो ।

पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने र निर्वाचन आज नै हुने कार्यसूची रहेको छ । उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखिको समय तोकिएको छ । निर्वाचनका लागि भने शुक्रबार अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।
काङ्ग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ जना र समानुपातिक प्रणालीबाट २० गरी ३८ जना सांसद रहेका छन् । संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी गर्नुभएको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले लामो समय सर्वसम्मत दलको नेता बनाउन प्रयास गरे पनि त्यो सफल भइनसकेको बताए । ‘लामो समय सर्वसम्मत बनाउन पर्खियौँ, छलफल ग¥यौँ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘अझै पनि सर्वसम्मतको प्रयास जारी छ । भएन भने प्रक्रियामा जान्छ । निर्वाचन समितिले निर्वाचन कार्यक्रम तय गरिसकेको छ ।’

सहमतिका लागि प्रयासरत नेताहरूका अनुसार कसैले पनि दाबी छोड्ने सम्भावना अहिलेसम्म देखिएको छैन ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता निर्वाचनबाटै छानिएका छन् । अहिले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । तसर्थ मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना प्रबल छ ।