काठमाडौँ, वैशाख १० गते । जेनजेड रेड फोर्स नेपालले प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न दिनुभएको निर्देशनप्रति गम्भीर आपत्ति जनाएको छ । ‘जेनजेड रेड फोर्स नेपाल’ले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती बलप्रयोग गरेर हटाउने तयारी गरेकोप्रति सरकारको आलोचना गरेको हो ।

रेड फोर्सले निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर डोजर रोक्न आफ्नै छाती थाप्ने वाचा गरेका नेताहरू सत्तामा पुगेपछि क्रूर बनेको भन्दै यसलाई अमानवीय र आत्मघाती कदमको सङ्ज्ञा भएको बताएको हो ।

जेनजेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर गरेका प्रतिवद्धता सम्झिन प्रधानमन्त्री बालेन र सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेलाई आग्रह गर्नुभएको छ ।

वर्तमान सरकारका प्रधानमन्त्री शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिना कुनै विकल्प, बिना क्षतिपूर्ति र ठोस व्यवस्थापन नै नगरी वर्षातको मुखमा गरिब सर्वहारा वर्गमाथि डोजर चलाउने निर्णय आत्मघाती र अन्यायपूर्ण छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला सुकुम्बासी बस्तीलाई केवल भोट बैंकको रुपमा प्रयोग गर्ने र सत्तामा पुगेपछि तिनै गरिब जनतालाई सडकमा पुर्याउने खेलको हामी घोर भत्सना गर्दछौँ ।’

विज्ञप्तिमार्फत् रेड फोर्सले निर्वाचनका बेला भोटका लागि ‘हामी सुकुम्बासी हटाउँदैनौँ, बरु डोजर चले आफैँ छाती थाप्न आउँछौँ’ भन्ने नेताहरू सत्तामा पुगेपछि तिनै जनतालाई सडकमा पु¥याउन लागेको भन्दै गरिब लखेट्ने सरकारको दोहोरो चरित्र तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

जेनजेड फोर्सले सरकारलाई आफ्नो हठ त्यागेर तत्काल सुकुम्बासीहरुको उचित व्यवस्थापनको मार्ग प्रशस्त नगरे कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

672159487_1668519644280610_640521620789647460_n