धनुषा, वैशाख ८ गते । कमला नदी तथा चारनाथ खोलामा भइरहेको अवैध उत्खनन रोक्न माग गर्दै सरोकारवालाले आज जनकपुरधाममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सिन्धुलीबाट उद्गम भई उदयपुर, सिराहा र धनुषा हुँदै बग्ने कमला नदीले तराई–मधेसको उर्वरता र जनजीवनमा महत्त्वपूर्ण भूमिका खेले पनि पछिल्लो समय अनियन्त्रित उत्खननका कारण नदीको स्वरूप बिग्रँदै गएको उल्लेख गरिएको छ ।

नदीको वहाब परिवर्तन हुँदा तटीय क्षेत्रका वस्ती जोखिममा परेको, खेतीयोग्य जमिन बालुवाले पुरिँदै गएको तथा स्थानीय बासिन्दा त्रसित बन्नुपरेको नदीनाला अवैध उत्खननविरुद्धको अभियानका संयोजक राम एकवाल शर्मा ९बाली०ले बताउनुभयो ।

विशेषगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र रूपमा बढेको र यसमा स्थानीय सरकार, क्रसर उद्योगी तथा केही निकायको मिलेमतो रहेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । अवैध उत्खननविरुद्ध आवाज उठाउनेहरूलाई दमन गरिँदै आएको उल्लेख छ ।

ज्ञापनपत्रमा कमला नदी क्षेत्रमा उत्खनन गर्दा वातावरणीय मापदण्ड तथा कानुनी प्रक्रिया पालना नगरिएको, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत अवास्तविक बनाइएको उहाँको भनाइ छ । साथै, उत्खननका कारण चुरे क्षेत्र तथा वन्यजन्तुको बासस्थानमा गम्भीर असर परेको उल्लेख छ । हिसपिड खरायो, हुँडार र अन्य लोपोन्मुख प्रजातिहरूको संरक्षणमा समेत खतरा उत्पन्न भएको जनाइएको छ ।

त्यसैगरी, चारनाथ खोलाबाट पनि मापदण्डविपरीत ठूलो परिमाणमा नदीजन्य पदार्थ उत्खनन भइरहेको तथा बिनादर्ता र नवीकरण सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन नगरेको आरोप लगाइएको छ । यसबाट राज्यलाई राजस्व नोक्सानी हुनुका साथै वातावरणीय क्षति बढ्दै गएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा अवैध उत्खनन तत्काल रोक्न, संलग्न पक्षहरूलाई कानुनी दायरामा ल्याउन, वातावरणीय प्रभावको अध्ययन गरी दिगो व्यवस्थापन गर्न तथा चुरे संरक्षण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।

साथै, धनुषाको वीरेन्द्रबजार–महिनाथपुर सडकखण्डमा बिनाबिल तथा राजस्व नतिरी सयौँ टिपरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेकोप्रति पनि ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमार्फत सरोकारवालाले आफ्ना माग सात दिनभित्र सम्बोधन गर्न आग्रह गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।