काठमाडौँ, वैशाख २ गते । राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक सोमनाथ लामिछाने ५८ वर्षे उमेर हदका कारण रासस सेवाबाट निवृत्त हुनुभएको छ । विसं २०५१ चैत १ गते अधिकृतस्तर समाचारदाता पदबाट सेवा प्रवेश गर्नुभएका उहाँ गत चैत २० गतेदेखि अवकाश हुनुभएको हो । रासस सेवाका क्रममा उहाँले तत्कालीन अञ्चल तथा जिल्ला कार्यालयको प्रमुखका साथै केन्द्रीय समाचार महाशाखा, अन्तरराष्ट्रिय समाचार सम्पादन शाखा र प्रशासन शाखाको नेतृत्व गर्नुभएको थियो । रासस सेवामा रहँदा उहाँले समाचार सङ्कलन, नेपाली समाचार सम्पादन शाखामा जिम्मेवारी सम्हाल्नुभएको थियो ।
अवकाश प्राप्त नायब महाप्रबन्धक लामिछानेको आज रासस केन्द्रीय कार्यालयमा औपचारिक रूपमा बिदाइ गरियो ।
बिदाइ कार्यक्रममा राससका महाप्रबन्धक सन्दीप राईले संस्थाले सुम्पिएको जिम्मेवारी इमान्दारिता र निष्ठापूर्वक सम्पादन गर्नुभएका नायब महाप्रबन्धक लामिछानेसँग समाचार सेवामा परम्परागतदेखि आधुनिक र नवीनतम् प्रविधिसम्मको प्रयोगसम्बन्धी ज्ञानको भण्डार रहेको बताउनुभयो । उहाँले जोखिमपूर्ण अवस्थामा सक्रिय पत्रकारिता आरम्भ गर्नुभएका लामिछानेको पत्रकारिताको यात्रा आगामी दिनमा थप क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो ।
नायब महाप्रबन्धक लामिछानेले राससलाई आर्थिक तथा भौतिक रूपमा सबल बनाउन तथा राससको समाचार सेवालाई अनलाइन प्रणालीमा लैजान भूमिका खेलेको स्मरण गर्नुभयो । उहाँले सेवा विधिकीरणसँगै दक्ष जनशक्तिको उचित प्रबन्ध गरी राससलाई अगाडि बढाउन सुझाव दिनुभयो ।
राससका प्रधान सम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतोले वरिष्ठतम् कर्मचारीको हैसियतमा लामिछानेले नीतिगत र समग्र सुधारका लागि देखाउनुभएको अग्रसरता अनुकरणीय रहेको बताउनुभयो । राससका प्रमुख समाचारदाता एकराज पाठकले राससको पूर्वाधार विकास, प्रशासनिक र समाचारीय एवं जनशक्ति विकासमा लामिछानेले महत्त्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।
सम्पादन सहयोगी तिवारीको बिदाइ
रासस सेवाबाट स्वेच्छिक अवकाश लिनुभएका सम्पादन सहयोगी रुचिला तिवारीलाई पनि सोही कार्यक्रममा बिदाइ गरिएको छ । २०६७ असार १७ गते रासस सेवा प्रवेश गर्नुभएका उहाँले पारिवारिक कारण देखाउँदै गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको थियो ।
बिदाइ कार्यक्रममा सम्पादन सहयोगी तिवारीले रासस सेवामा रहँदाको डेढ दशकको अवधिमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले राससको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा राससका विभागीय प्रमुखहरू, क्रियाशील रासस कर्मचारी सङ्घ, रासस कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाका अध्यक्ष एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।







