काठमाडौँ, चैत १६ गते । शनिबार बिहान प्रहरीको गिरफ्तारीमा पर्नुभएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई के कारणले पक्राउ गरिएको भनि कारण पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

पूर्वप्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले आफ्ना पति ओलीलाई गैरकानूनी थुनामा राखिएको भन्दै हिजो आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको थियो । सो रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सोमबार सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन दवाउन र त्यहाँ भएको ज्यादतीविरुद्ध तत्कालीन प्रधानमन्त्रीको हैसियतले ओली जिम्मेवार भएको गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले निष्कर्ष निकाल्दै फौजदारी अभियोगमा कारवाही गर्नु पर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेको थियो ।

तात्कालीन प्रधानमन्त्री ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि सोही सिफारिस भएको थियो । सोही आधारमा पूर्वप्रधानमन्त्री ओलीलाई शनिबार बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो ।