काठमाडौँ, चैत १२ गते । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् ।
ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित हुनुको साथै चार सय ७९ जनाको निधन र ३८ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार सोही अवधिमा एक हजार ८०० जना घाइते भएका छन्भने तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् ।

यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र  हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ । 

यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई/दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक÷एक घटना घटेका छन् । 

यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्मा घटना भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्मा परी १० जना घाइते भएका छन् ।