बागलुङ, माघ १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नागरिकको स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनका स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । आज धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षणपछि उहाँले स्वास्थ्य बिमाले आमनागरिकलाई सहज भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।
मन्त्री गौतमले सरकारले धेरै प्रकारका औषधि निःशुल्क दिएको तर त्यसको दुरुपयोग र अनावश्यक रूपमा बिमाको प्रयोग गर्दा आर्थिक व्यवस्थापनमा समस्या भएको धारणा राख्नुभयो । उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

“वास्तवमा यो कार्यक्रमबाट आमनागरिक निकै लाभान्वित भएका छन्, त्यसैले यसको व्यवस्थापन गर्दै निन्तरता दिन आवश्यक छ । त्यसका लागि नागरिक जिम्मेवार बन्ने र तीनै तहका सरकारले लगानी गर्नुपर्छ”, मन्त्री गौतमले भन्नुभयो,“हाल अघिल्लो वर्षको बिमाको रकम भुक्तानी गर्दा यस वर्षको बजेट शून्य भएको हो । यस वर्षसम्म रु ११ अर्ब बिमाको दायित्व भएको छ । त्यसैले थप रकम तिर्न समस्या भएको हो ।”
उहाँले सरकार स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका निरन्तर लागिरहेको भन्दै सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापनका लागि प्रयास भइरहेको बताउनुभयो ।







