भोजपुर, पुस २९ गते । भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गर्नुभएको हो।
निर्माणकर्ता प्रधानले दुवै संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गर्नुभयो । स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले आफूले धारा निर्माण गरिदिएको प्रधानले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की तथा निर्माणकर्ता उजिरबहादुरले धाराको उद्घाटन गर्नुभयो । सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा विनोद पराजुलीले सहयोग गर्नुभएको रु २० हजार रकमबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रअ राईले बताउनुभयो । कार्यक्रममा विद्योदय माविका प्रअ खोमराज धमलाको समेत उपस्थिति रहेको थियो ।







